छुवाछूत बिनाको अर्को नेपाल संभव छ, आउनुहोस् निर्माण गरौं
नेपाली

संस्थाको परिचयः

राष्ट्रिय दलित नेटवर्क (RDN) नेपाल मुलुकमा दलितअधिकारका लागि चलेका विभिन्न आन्दोलनहरुको  एकीकृत आन्दोलन, धेरै लक्ष्यहरुको एउटै लक्ष्य, धेरै योजनाहरुको एउटै योजना, धेरै नीति तथा कार्यक्रमहरुको एउटै नीति तथा कार्यक्रम, धेरै संगठनात्मक स्वरुपहरुको एउटै संगठन, धेरै अवधारणाहरुको साझा अवधारणा र साझा भावनाका साथ एकीकृत आन्दोलनका रुपमा स्थापित मानवअधिकारमुखी पद्धतिमा विश्वास राख्ने दलित एक्टिीभिष्टमा आधारित जनसंगठन हो । नेपाली दलित समुदायका राजनीतिक, आर्थिक र सामाजिक-सांस्कृतिक समस्याहरुको एकीकृत रुपमा समाधान गर्न सृजनात्मक दवाव दिने उद्देश्यले वि.स. २०५७ भाद्र ६ गतेका दिन यसको स्थापना भएको थियो । राष्ट्रिय दलित नेटवर्क (RDN) नेपाल दलितहरुको मानवअधिकार र सामाजिक न्यायका क्षेत्रमा कार्यरत  देशभरिका दलित एक्टीभिष्टहरुको साझा नेटवर्क अर्थात जनसंगठन हो । २०६० सालमा औपचारिक रुपमा जिल्ला प्रशासन कार्यालय कैलालीमा दर्ता भई त्यही साल समाज कल्याण परिषदमा आवद्ध भयो । शुरुमा सुदूरपश्चिममा कार्यक्षेत्र बनाउने गरीस् क्षेत्रीय दलित नेटवर्कका नामबाट दर्ता भएको भएपनि पछि राष्टव्यापी रुपमा काम गर्ने गरीे नाम संशोधन भई मिति २०६३ बैशाख ३१ गतेदेखि राष्ट्रिय दलित नेटवर्क (Rastriya Dalit Network-RDN) नेपालको रुपमा परिवर्तन गरियो । स्थापनाका दुई दशकसम्म आइ पुग्दा यो संगठन देशका ७७ वटै जिल्लाहरु, ७ वटै प्रदेशहरुमा, दर्जनौ ऐक्यबद्धतापूर्ण संजाल तथा नेटवर्कहरुमा र कतिपय दक्षिण एशियाली एलाइन्स तथा संगठनहरुसंग आवद्धता हासिल गर्न सफल भएको छ ।

RDN नेपालले दलित एक्टीभिष्टमा आधारित जनसंगठनको हैसियतमा स्थापनाको पहिलो चरणमा सुदूर तथा मध्यपश्चिमको जर्जर जातीय छुवाछूत र विभेदका विरुद्ध मानवअधिकारमुखी अभियान संचालन गर्दै त्यस क्षेत्रका मुद्दाहरुको राष्ट्रियकरण गर्ने साहसिक काम गर्यो । छुवाछूतमुक्त राष्ट्र घोषणाको अभियान RDN नेपालको स्थापनाको नारा थियो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मंचहरुसँग आबद्ध भई दलितअधिकार आन्दोलन, मानवअधिकार आन्दोलन, भूमिअधिकार आन्दोलन, प्राकृतिक स्रोतको आन्दोलनलगायतका मूल प्रवाहका आन्दोलनहरुमा एकाकार भई नेतृत्वदायी भूमिका निर्वाह गर्न सफल भयो । भने मुलतः संविधान निर्माणमा सम्पूर्ण शक्तिकासाथ सहभागी हुनु, राज्यपुनःसंरचनाको वहसमा आज प्रयन्त क्रियाशील रहनु, नेपाली समाजमा सामयिक महत्वका दस्तावेजहरुको प्रकाशनलगायतका कामहरु गर्दै देशका ठूलाठूला नागरिक संगठनहरुसंगको सहकार्यमा ऐक्यबद्धता आन्दोलनहरुको सहजकर्ताको रुपमा रहदै देशव्यापीरुपमा आफ्नो र आफ्नो विचारको उपस्थितिकासाथ अब्बल नागरिक संगठनका रुपमा स्थापित गरेको छ ।