Dalit women struggling for equality


Dalit women struggling for equality

नेपाली समाजमा बेलाबखत भएका दलित आन्दोलनहरूमा धेरै महिलाले सहभागिता जनाएका छन् । सामाजिक, सांस्कृतिक, शैक्षिक र राजनीतिक मोर्चामा रहेर केहीले जातीय विभेदविरुद्ध भएका विभिन्न अभियान, सङ्घर्ष र आन्दोलनको नेतृत्व पनि गरेका छन् । समताको यात्रामा दलित महिलाहरूले आफूलाई सशक्त ढङ्गले उभ्याउँदै सामाजिक, सांस्कृतिक, शैक्षिक र राजनीतिक रूपान्तरणमा योगदान पुर्‍याएका छन् । उनीहरूले गैरदलितसँग आफ्नो हक अधिकारका लागि लडेका छन् । फलतः संविधान र ऐन तथा नियमहरूमा समानताको व्यवस्था हुन गयो । अझै पनि व्यवहारमा भने जातीय छुवाछुत र लैङ्गिक भेदभाव हट्नसकेको छैन । यसबाट दलित महिलाहरू झनै बढी प्रभावित भएकाले उनीहरू समानताको खोजीमा सङ्घर्षरत पनि भेटिन्छन् ।

नेपालमा दलित आन्दोलन कहिले सुरु भयो भन्ने यकिन जानकारी पाइँदैन । इतिहास खोतल्दै जाँदा १९९७ सालमा बाग्लुङका भगत सर्वजित विश्वकर्मालगायतले छुवाछुतविरोधी जनै अभियान चलाएको र सोही अभियान नै नेपाली दलित आन्दोलनको प्रारम्भविन्दु भएको विचार केहीले व्यक्त गरेको पाइन्छ । यसमा दलित महिलाको सन्दर्भ जोडिएको र भूमिका खोलिएको छैन । यामबहादुर किसानले भने नेपालको सङ्गठित दलित आन्दोलन २००४ सालबाट सुरु भएको कुरा ‘नेपालमा दलित जातीय मुक्ति आन्दोलन’ पुस्तकमा उल्लेख गर्नुभएको छ । २००४ सालमा एकै समयमा बाग्लुङमा भगत सर्वजित विश्वकर्माको नेतृत्वमा विश्व सर्वजन संघ, काठमाडौँमा सहश्रनाथ कपालीको नेतृत्वमा टेलर युनियन र धरानमा जदुवीर विश्वकर्माको नेतृत्वमा नेपाल समाज सुधार संघको स्थापना भएको पाइन्छ । यससँगै विभिन्न सङ्घसंस्था स्थापना गरिएको देखिन्छ । २०११ सालमा मिठाईदेवी विश्वकर्माको नेतृत्वमा नेपाल परिगणित नारी संघ गठन भए पनि दुई हजार पचासको दशकमा पुगेपछि मात्र दलित सङ्गठनका केन्द्रीय समितिमा एकाध महिलालाई चयन गरी समावेश गर्न थालियो । यसबाट दलित महिलाको पहललाई आम दलित आन्दोलनको अभिन्न अङ्गको रूपमा दलित समुदायले लिन नसकेको देखिन्छ । जसरी राजनीतिक आन्दोलन दलितका सम्बन्धमा निरपेक्ष बन्यो, त्यसरी नै दलित आन्दोलन दलित महिलाप्रति पनि निरपेक्ष बन्न पुगेको लेखक तथा राजनीतिज्ञ आहुतिले ‘नेपालमा वर्णव्यवस्था र वर्ग–सङ्घर्ष’ पुस्तकमा लेख्नुभएको छ ।

सामाजिक आन्दोलनमा नेतृत्व, सहभागिता र योगदान

दलित समुदायका महिलाले जातीय विभेदविरुद्ध सङ्घर्ष गर्ने क्रममा विभिन्न स्थान, समय र सन्दर्भमा सामाजिक आन्दोलन गरेका छन् । कसैले त्यसको नेतृत्वसमेत गरे भने कसैले सक्रियतापूर्वक सहभागिता जनाएर सामाजिक रूपान्तरणमा योगदान गरे । यसमा किनमेलका लागि हटिया प्रवेशदेखि दुध भराउ, कानुनी अधिकार हुँदै सिनो बहिष्कारसित सम्बन्धित आन्दोलनका घटनाहरू पर्दछन् ।

हाटबजार सङ्घर्ष

भोजपुर जिल्लाको साबिक देउराली गाविसका लालकुमारी विश्वकर्मा (ठुली कमिनी) हक्की स्वभावको भएका कारण उहाँले हाटबजार गएर दलितले आफैँ सामान किनमेल गर्ने वातावरण बनाउनुभयो । त्यसभन्दा पहिले हटियामा गैरदलितले दलितका लागि सामान खरिद गर्थे र दिन्थे । २००७ सालमा उहाँले दलितलाई प्रवेश निषेध गरिएको हटियामा जबरजस्ती छिरेर आफैँ किनमेल गरेको कुरा ‘दलनविरुद्ध प्रतिरोध’ पुस्तकमा समेटिएको आफ्नो लेखमा पदम सुन्दासले लेख्नुभएको छ । त्यसरी आफैँले किनमेल गरेको निहुँमा लालकुमारीलाई पक्रेर बडाहाकिमकोमा लगियो र केरकार गरियो । तर लालकुमारीले कत्ति पनि विचलित नभइकन प्रतिवाद गर्नुभयो । दलितले किनमेल गर्न दिएको पैसा गैरदलितले हिनामिना गर्ने गरेको बताउनुभयो । दलितले नुन तेल किन्नसमेत गैरदलित तथा सुरक्षामा खटिएका सरकारी सिपाहीको भर पर्नुपर्थ्यो । लालकुमारीको हिम्मतपछि नै दलित समुदायका लागि पनि हाट खुला गरिएको थियो ।

लालकुमारी पञ्चायत व्यवस्था सुरु हुनुअघिदेखि नै आफ्नै खर्चमा देउराली डाँडा स्कुल खोलेर सामाजिक सेवामा लाग्नुभएको थियो । उहाँकै अगुवाइमा २०२१ सालमा १५० जना दलितहरूलाई लिएर सिद्धकाली मन्दिर प्रवेश गर्ने प्रयास भयो । उक्त प्रयासलाई गैरदलितले सफल हुन दिएनन् । फलस्वरूप दलित र गैरदलित समुदायबिच झडप भयो । सामाजिक विद्रोह मच्चाएको आरोपमा लालकुमारीलाई अड्डामा पुर्‍याइएको कुरा ‘नेपालका सङ्घर्षशील दलित महिलाहरू’ पुस्तकमा हिरा विश्वकर्माले लेख्नुभएको छ ।

उदियाचौर दुध भराउ आन्दोलन

स्याङ्जा जिल्लामा २०४३ सालमा उदियाचौर दुध भराउ आन्दोलन चल्दा दलित समुदायका मानिसले उत्पादन गरेका दुध खरिद गरिनुपर्छ भन्ने मागमा महिलाहरूको पनि सहमति थियो । त्यसमध्येका एक उदियाचौरकी स्वरूपा विश्वकर्मा हुनुहुन्थ्यो । उहाँकै सङ्घर्षबाट उदियाचौर दुध भराउ आन्दोलन सुरु भएको थियो । स्वरूपाले दुध सङ्कलन केन्द्रमा गएर आफ्नो भैँसीको दुध खरिद गरिदिन आग्रह गर्नुभयो । उहाँको कुरालाई सङ्कलन केन्द्रका कर्मचारीहरूले हाँसोमा उडाएपछि स्वरूपा आक्रोशित हुनुभयो । आफूले लगेको दुध केन्द्रमै पोखेर उहाँले विद्रोह गर्नुभयो । यस रूपमा लामो समयको सङ्घर्ष चलेपछि दलितहरूले गैरदलितसरह दुध बिक्री गर्न पाएका थिए ।

दुध डेरी सञ्चालकले दलितले ल्याएको दुध अलग र गैरदलितको दुध अलग क्यानमा राख्ने प्रस्ताव गरेका थिए तर आन्दोलनकारीहरू पछि हटेनन् । उनीहरूले आन्दोलन गरेरै गैरदलितले जस्तै गरी आफूहरूले पनि दुध बेच्न पाउने व्यवस्था गरे ।

स्वरूपा साबिक पेलाकोट गाविस वडा नम्बर ६ उदियाचौर हाल वालिङ नगरपालिकाको वासिन्दा हुनुहुन्थ्यो । उहाँले कम्युनिस्ट पार्टीका कार्यकर्ता बस्ने तथा खानाको व्यवस्था गर्ने, कार्यकर्तालाई प्रहरी प्रशासनदेखि लुकाउने गर्ने गरेको उदियाचौर दुध भराउ आन्दोलनका सहभागी धनमाया विश्वकर्मा बताउनुहुन्छ । धनमायाका अनुसार, दुध भराउ आन्दोलनमा स्वरूपा, बुद्धिसरा विक, कल्पना विक, मनकुमारी विक, भूमि विकको र उहाँको पनि सहभागिता थियो । यस्तै, २०५० साल फागुन १ मा छुवाछुतविरुद्ध आन्दोलन सुरु भयो । सो आन्दोलनमा मान्छे जम्मा गर्ने, भित्तामा पोस्टर टाँस्ने, नारा जुलुस गर्ने आदि काम महिलाको पनि हुन्थ्यो । स्वरूपाले छुवाछुत गर्न पाइँदैन, सबैको रगत रातै हो, सबै समान हुन् भन्ने गर्नुहुन्थ्यो । उहाँ अहिले यो संसारमा हुनुहुन्न ।

गैँडाकोट दुध भराउ आन्दोलन

समाजमा २०४६ सालमा प्रजातन्त्र पुनस्र्थापना भएपछि पनि पुरातन सोच र चिन्तन बोकेका व्यक्ति र समूहहरूको बाहुल्य जस्ताको तस्तै थियो । दलित समुदायका मानिसले गैरसमुदायका मानिसले जसरी आफूले उत्पादन गरेका दुध बिक्री गर्न पाउँदैनथे । दलितले आफ्नो घरमा पालेका गाई भैँसीको दुध गैरदलितलाई दुहुन लगाएर बेच्न पठाउनुपर्थ्यो । फलतः २०५५ सालमा तत्कालीन नवलपरासी जिल्लाको गैँडाकोटमा दुध भराउ आन्दोलन भयो । आन्दोलनमा शिक्षिकासमेत रहेकी शारदा विकले उल्लेखनीय भूमिका निर्वाह गर्नुभयो । विभेद र असमानताविरुद्ध गैँडाकोट दुध भराउ आन्दोलन भएको उहाँ बताउनुहुन्छ । उहाँका अनुसार, आन्दोलन चर्किदै गएपछि दुध डेरी सञ्चालकले दलितले ल्याएको दुध अलग र गैरदलितको दुध अलग क्यानमा राख्ने प्रस्ताव गरेका थिए तर आन्दोलनकारीहरू पछि हटेनन् । उनीहरूले आन्दोलन गरेरै गैरदलितले जस्तै गरी आफूहरूले पनि दुध बेच्न पाउने व्यवस्था गरे । शारदा भन्नुहुन्छ, “कुनै पार्टी सङ्गठनभन्दा पनि वर्गीय हिसाबले आन्दोलन गरेका थिए । दलितले पनि गरिखान पाउनुपर्छ, दुध बेच्न पाउनुपर्छ भन्ने थियो । आन्दोलन सफल भयो, दुध बेच्न पायौँ ।” गैँडाकोट नगरपालिका वडा नम्बर ५ मा बस्दै आउनुभएकी उहाँ हाल शिक्षण सेवाबाट निवृत्त भइसक्नुभएको छ ।

सिनो बहिष्कार आन्दोलन

सिरहा र सप्तरी जिल्लाहरूमा २०५६-०५७ सालमा सिनो बहिष्कार आन्दोलन भयो । चमार समुदायका मानिसले परम्परादेखि गर्दै आएको सिनो फाल्ने कामको विरोध गर्दै आन्दोलन गरेका थिए । सो आन्दोलनका सहभागी इन्द्र रामका अनुसार, आन्दोलनमा दलित महिलाको उल्लेखनीय सहभागिता थियो । रामरती राम, सियावती राम, जानकी राम, चन्देश्वरी सदा, गुलावदेवी राम, मुर्नरदेवी राम, फुलकुमारी रामलगायत महिलाले आन्दोलनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।

सिनो बहिष्कार आन्दोलनको नेतृत्व गर्ने महिलाहरूमा पर्नुहुन्छ, सिराहा जिल्लाको लहान १ मटिअर्वाकी सियावती राम । उहाँले सिरहा सिनो बहिष्कार सङ्घर्ष समितिमा रहेर आन्दोलनलाई अगाडि बढाउनुभयो । मटिअर्वाको चमार बस्तीमा सिनो बहिष्कार आन्दोलनमा चमार पुरुषहरू अघि नसरेपछि सियावतीले सिनो बहिष्कार आन्दोलनको नेतृत्व गर्नुभएको थियो । उहाँले नारा जुलुस गर्दा प्रहरीको कुटाइ पनि खाएको ‘दलनविरुद्ध प्रतिरोध’ पुस्तकमा समेटिएको आफ्नो लेखमा भोला पासवानले उल्लेख गर्नुभएको छ । सियावती राम सामाजिक काममा पनि सक्रिय हुनुहुन्थ्यो । उहाँले महिलाको पाठेघर खस्ने समस्याका लागि स्वास्थ्य शिविर गर्ने, गाउँ टोलमा दलित महिला जागरण अभियान चलाउने, छुवाछुतविरुद्ध चेतना जगाउने जस्ता काम गर्नुभएको आन्दोलनका सहभागी इन्द्र राम बताउनुहुन्छ ।

दलित मुक्ति समाजले २०५७ असारमा सिंहदरबार घेराउ तथा भद्रकालीमा अनसन गर्‍यो । संविधान र कानुनसम्मत समानताको हकप्रति सरकारले बेवास्ता गरेको मात्र नभई न्याय एवं समानताको हकलाई राज्यले ठाडो उल्लङ्घन गरेको भन्दै समाज सडक सङ्घर्षमा उत्रिएको थियो ।

सोही आन्दोलनकी अर्का सहभागी चन्दे्रश्वरी सदाले भूमिहीन ११० जना मुसहरको टोलीलाई सप्तरीको बिसौनियामा बस्ती बसाउने काम गरेको यज्ञशको पुस्तक ‘भुइयाँ’ मा उल्लेख छ । साहुको घरमा हरुवा चरुवा बसेका मुसहर समुदायका मानिस बिस्तारै सङ्गठित हुने, अधिकारको कुरा गर्नसक्ने वातावरण चन्द्रेश्वरीको नेतृत्वमा भएको आन्दोलनको कारण निर्माण भएको पनि पुस्तकमा जनाइएको छ ।

अनुसन्धानकर्ताहरू गोपाल नेपाली, रक्षाराम हरिजन र सविता कोइरालाले ‘चमार समुदायको पहिचान र अवस्था’ कृतिमा सिनो नफालेपछि उनीहरूविरुद्ध आर्थिक र सामाजिक नाकाबन्दी लगाइएको, गैरदलितहरूले सामूहिक रूपमा कुनै पनि चमारलाई मजदुरीमा नलगाउने, उनीहरूलाई पसलमा सामान खरिद गर्न नदिने, घर आँगन, खेतवारीमा जान नदिने, ढिकीजाँतो, मिल, कलधारा र इनार प्रयोग गर्न नदिने र उनीहरूसँग नबोल्ने तथा डाक्टर वा वैद्यको सेवा पनि नदिने कठोर निर्णय भएको कुरा भोला पासवानलाई समेत उद्धृत गर्दै उल्लेख गर्नुभएको छ । भोला पासवानले ‘दलनविरुद्ध प्रतिरोध’ कृतिमा रहेको ‘सिराहा–सप्तरीको सिनो बहिष्कार सङ्घर्ष : मधेसी दलितको एकता र प्रतिरोध’ लेखमा विभिन्न चरणमा भएको आन्दोलन अन्ततः सफल भएको उल्लेख गर्नुभएको छ । यस्तै, २०७४ साउनमा कान्तिपुरमा प्रकाशित ‘सिनो बहिष्कार आन्दोलनको उत्तरगाथा’ शीर्षकको लेखमा पत्रकार चन्द्रकिशोरले सिनो बहिष्कार आन्दोलनले समग्र दलितमा सांस्कृतिक नवजागरण सुरु गरेको उल्लेख गर्नुभएको छ ।

वादी अधिकार आन्दोलन

uma-badi-featured-photo
तस्विरः सागर श्रेष्ठ

नेपालगन्जका आश वदेनी, सुर्खेतका विष्णु वादी, बर्दियाका चिन्ता वादी र गजबिरे वादीलगायतले २०३६ सालमा आफ्नो समुदायको हकहितका लागि सङ्घर्ष गर्नुभएको कुरा अशोक दर्नालले ‘दलनविरुद्ध प्रतिरोध’ पुस्तकमा समेटिएको आफ्नो लेखमा उल्लेख गर्नुभएको छ । त्यस्तै, २०४६ सालपछि वादीहरूले विभिन्न सामाजिक सङ्घसंस्थामा आबद्ध भएर अधिकारका लागि सामाजिक आन्दोलनसँगै कानुनी सङ्घर्ष पनि गरेको पाइन्छ । बाध्यात्मक देहव्यापारबाट वादी समुदायको मुक्ति, मानवोचित जीवनयापनका लागि वैकल्पिक रोजगारी एवं सामाजिक सुरक्षा, सिपमूलक तालिम, पूर्वाधारसहितको आवासलगायत माग राखेर वादीहरूले बाँके, बर्दिया, दाङ, कैलाली र कञ्चनपुरमा पटक पटक आन्दोलन गरे । उक्त जिल्लाहरूमा भएका आन्दोलन प्रभावकारी हुन नसकेको अनुभव गरी २०६४ सालमा काठमाडौँ केन्द्रित आन्दोलन पनि भयो । उक्त आन्दोलनको नेतृत्व उमादेवी वादीले गर्नुभएको थियो । आन्दोलनमा कलावती वादी, कल्पना वादी, रुक्मणी वादीलगायत सहभागी हुनुहुन्थ्यो । उमादेवी भन्नुहुन्छ, “वादी आन्दोलनमा उठाइएको मागहरूको लिखित रूपमा केही सुनुवाइ भयो । वादी समुदाय आफ्ना मुद्दाप्रति जागरूक भए ।”

सिंहदरबार घेराउ तथा भद्रकाली अनसन

दलित मुक्ति समाजले २०५७ असारमा सिंहदरबार घेराउ तथा भद्रकालीमा अनसन गर्‍यो । संविधान र कानुनसम्मत समानताको हकप्रति सरकारले बेवास्ता गरेको मात्र नभई न्याय एवं समानताको हकलाई राज्यले ठाडो उल्लङ्घन गरेको भन्दै समाज सडक सङ्घर्षमा उत्रिएको थियो । आन्दोलनमा सहभागी हुन दसौँ हजार दलित काठमाडौँमा एकत्रित भएको कुरा ‘दलनविरुद्ध प्रतिरोध’ मा समेटिएको आफ्नो लेखमा पद्मलाल विश्वकर्माले उल्लेख गर्नुभएको छ । आन्दोलनका सहभागीहरूमध्ये एक हुनुहुन्थ्यो, दलित मुक्ति समाजकी केन्द्रीय सदस्य मिठाईदेवी विश्वकर्मा । त्यस बेलाको घेराउ र अनसनमा के कति महिलाहरू सहभागी थिए र उनीहरूको के कस्तो भूमिका रह्यो भन्ने कुरो भने खुल्न आउँदैन ।

सांस्कृतिक आन्दोलनमा नेतृत्व, सहभागिता र योगदान

दलित समुदायका महिलाले जातीय विभेदविरुद्ध सांस्कृतिक सङ्घर्ष गर्ने क्रममा विभिन्न स्थानका मन्दिरमा विभिन्न समयमा विभिन्न तरिकाले आन्दोलन गरेका छन् । कसैले त्यसको नेतृत्वसमेत गरे भने कसैले सक्रियतापूर्वक सहभागिता जनाएर सामाजिक रूपान्तरणमा योगदान गरे । यसमा राजधानीस्थित पशुपतिनाथदेखि डोटीको शैलेश्वरी, बैतडीको उदयदेव, चितवनको लक्ष्मी बैङ्कटेश, मुगुको चैन मन्दिर प्रवेश, पूजाआजा र कुनैमा बलि दिइएका राँगा बहिष्कारसँग सम्बन्धित घटनाहरू उल्लेख्य छन् ।

पशुपति मन्दिर प्रवेश आन्दोलन

काठमाडौँस्थित पशुपतिनाथ मन्दिर प्रवेश आन्दोलन २०११ सालमा भएको कुरा विभिन्न आलेखमा उल्लेख भए पनि २०१० सालमा नै विभिन्न समयमा पशुपति मन्दिर प्रवेशका लागि प्रयास भएको ‘दलन विरुद्ध प्रतिरोध’ पुस्तकमा समेटिएको आफ्नो लेखमा जेबी विश्वकर्माले उल्लेख गर्नुभएको छ । प्रजातान्त्रिक आन्दोलनको क्रमसँगै दलित समुदायका मुद्दा उठ्नथालेको पृष्ठभूमिमा पशुपति मन्दिर प्रवेश आन्दोलन भयो । सहर्षनाथ कपालीको संयोजनमा भएको सो आन्दोलनमा मेवा कपाली, मोतीमाया कपाली, मिठाईदेवी विश्कर्मा, सरस्वती दर्नाललगायत महिलाहरूको सहभागिता थियो । २०१० सालतिर बिफरको आतङ्क फैलिँदा शीतलामाईको पूजा गरेपछि बिफरले दुःख नदिने र खोप लगाउन नपर्ने मान्यता थियो । त्यतिबेला सहर्षनाथ कपालीका भाइ न्हुच्छेनारायणका छोरा रतनमानलाई पनि बिफर भएको थियो । यसैले रतनमानलाई मन्दिर दर्शन गराउँदा प्रहरीले पक्राउ गर्‍यो । जेल पठाउन खोजेपछि त्यसको विरोधमा जुलुस र नाराबाजी गर्दै सङ्घर्ष सुरु भयो ।

पशुपतिनाथ मन्दिर प्रवेश आन्दोलनमा दलित समुदायका करिब सात सय जनाको सहभागिता रहेको, त्यसमध्ये करिब चार सय जना महिला रहेको आन्दोलनमा सहभागी मिठाईदेवी बताउनुहुन्छ । पशुपतिनाथ मन्दिर प्रवेश आन्दोलनका सहभागीहरूमा नौ वर्षकी सरस्वती दर्नाल पनि हुनुहुन्थ्यो । त्यतिबेला मन्दिर प्रवेश गरेकालाई हनुमानढोकामा लगेर राखिएको थियो । अन्ततः सरकारले पशुपतिनाथ मन्दिरमा दलितहरूमाथि लगाइँदै आएको निषेध हटायो ।

पशुपतिनाथ मन्दिर प्रवेश आन्दोलनमा सहभागी भएसँगै जनचेतना फैलाउने काममा पनि मिठाईदेवी उत्तिकै सक्रिय हुनुभयो । उहाँकै अध्यक्षतामा २०१२ सालमा नेपाल परिगणित नारी संघ स्थापना भएको थियो । संघले जातीय भेदभाव र छुवाछुतको विरुद्ध काम गथ्र्यो । उहाँले काठमाडौँ जिल्ला पञ्चायतको सदस्य र नेपाल महिला संगठनमा सचिव भएर पनि दलित समुदायको हकहितमा काम गर्नुभयो । उहाँ ‘सञ्जीवनी’ मासिक, ‘प्रेरणा’ साप्ताहिक र ‘महिला बोल्छिन्’ पत्रिकाको सम्पादक पनि हुनुभयो ।

शैलेश्वरी मन्दिर प्रवेश आन्दोलन

डोटी जिल्लास्थित शैलेश्वरी मन्दिर सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध र प्रमुख धार्मिकस्थलहरूमध्ये एक मानिन्छ । शैलेश्वरीमा पूजाआजा र दर्शनका लागि मानिसहरू छिमेकी राष्ट्र भारतबाट समेत आउने भए पनि दलित समुदायका मानिसहरूले मन्दिरमा गएर पूजाआजा गर्न पाउँदैनथे । यसैले २०५७ सालमा महिलाकै पहलमा शैलेश्वरी मन्दिर प्रवेश आन्दोलन सुरु भयो र यो नौ वर्षसम्म चलेपछि अन्ततः २०६४ सालमा टुङ्गियो ।

काठमाडौँमा केन्द्रीय कार्यालय रहेको दलित महिला संघ (फेडो) ले २०५७ साल माघमा डोटी जिल्लामा शाखा स्थापना गरेपछि संघकी अध्यक्ष दुर्गा सोबले दलित समुदायले पनि शैलेश्वरी मन्दिरमा प्रवेश गर्न पाउनुपर्छ भन्दै स्थानीय दलित समुदायको सहभागितामा मन्दिर प्रवेश कार्यक्रमको आयोजना गर्नुभयो । पूर्वसभामुख दमननाथ ढुङ्गाना पनि सहभागी हुनुभएको सो कार्यक्रममा मन्दिरका पुजारी र स्थानीय गैरदलितहरूले दलितहरूलाई मन्दिर प्रवेशमा अवरोध खडा गरे । दुर्गाका अनुसार, मन्दिर प्रवेश गर्न खोज्ने र प्रवेश गर्न नदिने समुदायबिचको विवाद बढेर दलितहरूमाथि कुटपिट र ढुङ्गामुढासमेत भयो । गैरदलित समुदायको घेराबन्दीबाट भागेर पूर्वसभामुख दमननाथ धनगढी पुग्नुभयो । दुर्गा भन्नुहुन्छ, “आफू जन्मे, हुर्केको ठाउँमा १७ वर्षपछि जाँदा पनि जातीय भेदभाव उस्तै थियो । संविधानमा भएको कुरा लागु गर्न खोज्दा ज्यान जोगाएर भाग्नुपर्ने स्थिति आयो ।”

शैलेश्वरी मन्दिर प्रवेशको आन्दोलनमा सहभागी हुँदा पार्वती आग्री सुत्केरी भएको दुई महिना मात्र भएको थियो । मन्दिर प्रवेशपछि दलितमाथि हिंसा मात्र भएन, उनीहरूका घर जलाउने, भत्काउने काम पनि भयो । तर, दलित समुदायले हिम्मत भने हारेन । यस्तै, मन्दिर प्रवेश आन्दोलनका सहभागीहरूमध्येकै एक सरस्वती नेपाली भन्नुहुन्छ, “मन्दिर प्रवेश आन्दोलनमा स्थानीय ब्राह्मण, नेवार समुदायको कुटाइले एक हप्तासम्म अञ्चल अस्पातलमा भर्ना भएँ । तर पनि हिम्मत हारिनँ । मन्दिर प्रवेश आन्दोलन सफल बनायौँ ।”

दलितलाई मन्दिर प्रवेशबाट वञ्चित गराउनु संविधान, धर्म र नैतिकताको दृष्टिले गलत भए पनि मन्दिर प्रवेशको त्यतिबेलाको आन्दोलन सफल भएन । त्यसपछिका दिनहरूमा पनि शैलेश्वरी मन्दिर प्रवेशका चरणबद्ध आन्दोलनहरू भए । विभिन्न गैरसरकारी सङ्घसंस्था तथा स्थानीय दलितहरूले पटक पटक गरेको आन्दोलनमा महिलाहरूको सक्रियता जारी नै रह्यो । यस्तैमा २०६३ भदौ १० गते हरितालिका तीजको दिन दलित महिलाहरू पूजा गर्न सो मन्दिर पुगे । तर, पुजारीले छुवाछुतको व्यवहार गर्दै दलित महिलाहरूले चढाएका प्रसाद ग्रहण गर्न नमानेपछि विवाद भयो । गैरदलित महिलाहरूले दलित महिलाहरूलाई डुमेनी, ढोलेनी जस्ता शब्द प्रयोग गर्दै गालीगलौज र हातपात गरे । पूजाका सामग्रीहरू फालिदिए । त्यसपछि आफूहरूको बेइज्जत भएको महसुुस गरी खाली थाल समातेर तमन्ना नेपाली, रोशनी बि.सी, रेखा बागचन, रोमी गहतराजसहित लगभग ४० महिलाले समानताको अधिकारका नारा लगाउँदै सोही दिन बेलुका ५ बजे जिल्ला प्रशासन कार्यालयमा पुगेर उजुरी गरेको यामबहादुर किसानले ‘दलनविरुद्ध प्रतिरोध’ पुस्तकमा समेटिएको आफ्नो लेखमा लेख्नुभएको छ ।

उजुरी गरेको एक वर्षपछि २०६४ साल असोज १ मा मन्दिर प्रवेशमा गरिएको निषेध दलितको मानवअधिकारको निषेध हो भन्दै निरादेवी जैरु, सरस्वती नेपाली, पार्वती आग्रीलगायतका दलित महिलाहरूले शैलेश्वरी मन्दिरमा प्रवेश गरे । तर, फर्किने क्रममा आफूहरूमाथि गैरदलित समुदायले कुटपिट गरेको निरादेवी बताउनुहुन्छ । सामाजिक न्यायको पक्षमा काम गर्ने राष्ट्रिय दलित नेटवर्कका उपाध्यक्ष निरादेवीको नेतृत्वमा भएको मन्दिर प्रवेश आन्दोलन भने सुखद रहेन । निरादेवीका अनुसार, गैरदलितहरूले एक समूह खडा गरी निरादेवी, मोहन वड, करन दयाल, सरस्वती नेपाली, गीता नेपाली, धिरेन्द्र विकलगायतलाई कुटपिट गरेर सिस्नुको झ्याङमा फालिदिए । उहाँ भन्नुहुन्छ, “अचेत अवस्थामा सिस्नु झ्याङमा फालिदिए । होस खुलेपछि सिस्नु झ्याङबाट भाग्दै धानको खेतमा दिनभर बसेउँ । पछि नेकपा माओवादी केन्द्रका नेता पदम तिरुवाले संरक्षण गरे ।”

शैलेश्वरी मन्दिर प्रवेशको आन्दोलनमा सहभागी हुँदा पार्वती आग्री सुत्केरी भएको दुई महिना मात्र भएको थियो । मन्दिर प्रवेशपछि दलितमाथि हिंसा मात्र भएन, उनीहरूका घर जलाउने, भत्काउने काम पनि भयो । तर, दलित समुदायले हिम्मत भने हारेन । यस्तै, मन्दिर प्रवेश आन्दोलनका सहभागीहरूमध्येकै एक सरस्वती नेपाली भन्नुहुन्छ, “मन्दिर प्रवेश आन्दोलनमा स्थानीय ब्राह्मण, नेवार समुदायको कुटाइले एक हप्तासम्म अञ्चल अस्पातलमा भर्ना भएँ । तर पनि हिम्मत हारिनँ । मन्दिर प्रवेश आन्दोलन सफल बनायौँ ।”

सफलताका लागि विभिन्न स्वरूपको आन्दोलन गर्दै १५ दिनसम्म चक्काजाम गरेको पनि पार्वती बताउनुहुन्छ । उहाँका अनुसार, आन्दोलनपछि नै मन्दिरमा दलित र गैरदलित दुबै समुदायका मानिसले मूल स्थानमा प्रवेश नगर्ने, पुजारीले नै पूजा सामग्री लगेर पूजा गरिदिने व्यवस्था भयो ।

उदयदेव मन्दिरमा राँगा बहिष्कार आन्दोलन

बैतडी जिल्लाको पाटनमा रहेको उदयदेव मन्दिरमा दसैँको बेला गैरदलित समुदायले कुखुरा, बोका, राँगालगायतको पशु बलि दिने प्रथा थियो । राँगाबाहेक अरू बलि घर लैजाने गरिन्थ्यो । बलिमा काटिएको राँगा भने दुई तीन दिनपछि त्यहाँको दलित समुदायलाई दिने गरिन्थ्यो । सोही प्रथाको विरुद्ध दलितहरूले २०६४ सालमा बलिको राँगा बहिष्कार आन्दोलन गरे । त्यसमा दलित महिलाहरूको उल्लेखनीय सहभागिता थियो । आन्दोलन सरस्वती नेपाली, पार्वती आग्री, निरादेवी जैरुलगायतका महिलाको नेतृत्वमै भएको थियो । दलित समुदायका मानिसले मन्दिरमा आफूमाथि हुने गरेको विभेदको खुलेर प्रतिवाद गरेको सो आन्दोलन तीन महिनासम्म चल्यो । आन्दोलनका अगुवा सरस्वतीका अनुसार, मानव भएर पनि पशुको जस्तो व्यवहार गर्ने र बलि दिएका शवलाई दलित समुदायले व्यवस्थापन गरिदिनुपर्ने जस्तो अन्यायको विरुद्ध उक्त आन्दोलन भएको थियो । निरन्तरको सङ्घर्ष र प्रयासपछि आन्दोलन सफल भएको देखिन्छ ।

बैङ्कटेश मन्दिर प्रवेश आन्दोलन

चितवन जिल्ला, भरतपुरको हरिकीर्तन चोकमा रहेको लक्ष्मी बैङ्कटेश मन्दिरमा २०६१ वैशाख २० मा एकवर्षे हरिकीर्तन पूजाअर्चना सुरु भयो । मन्दिरको रजत जयन्तीमा रामनुज वैष्णव समुदायको आयोजनामा विश्वशान्ति र राष्ट्रशान्तिको कामना सो पूजाअर्चना भएको थियो । पूजाअर्चनामा दलितबाहेक बाँकी समुदायलाई मन्दिर प्रवेशमा अनुमति थियो ।
स्थानीय दलित समुदायले सङ्गठित रूपले टोली बनाई भजनकीर्तनमा सहभागी हुन पाउनुपर्ने माग राख्दै टोली दर्ता गराउन खोज्यो । मन्दिर समितिबाट दलित समुदायको मागको उपेक्षा मात्र भएन, नयाँ दर्ता गर्ने काम पनि तत्कालै रोकियो । समितिको उक्त कार्यविरुद्ध दलित समुदाय सक्रिय भयो । रत्ननगर नगरपालिका वडा नम्बर ९ की लक्ष्मी नेपाली भन्नुहुन्छ, “अमानवीय व्यवहारविरुद्ध आन्दोलन सुरु भयो । २०६१ असार २५ गते चन्द्रकला बरालीको नेतृत्वमा स्थानीय सङ्घर्ष समिति गठन भयो ।”

दलितले मन्दिर प्रवेश गरे धर्म नासिने, दलितहरूको मृत्यु हुने जस्तो धारणा गैरदलितहरूको थियो । दलित समुदायका मानिसमाथि भइरहेको जातीय विभेदविरुद्ध रङ्गमञ्चकर्मी दम्पती हिराबिजुली नेपाली र विष्णुमाया परियार अग्रसर हुनुभयो ।

लक्ष्मीका अनुसार, दलित भएका कारण सञ्चारकर्मीहरू कल्पना परियार र सपना परियारलाई मन्दिर परिसरको फोटो पनि खिच्न दिइएन । उक्त अमानवीय व्यवहारविरुद्ध राजनीतिक दल, मानवअधिकारकर्मी आदिले साथ दिए । घटनाले स्थानीय तहबाट जिल्ला हुँदै राष्ट्रिय चर्चा पायो । अन्त्यमा २०६१ मङ्सिर १९ गते दलित समुदायले मन्दिर प्रवेश गरेको कुरा ‘दलनविरुद्ध प्रतिरोध’ पुस्तकमा समेटिएको आफ्नो लेखमा यमबहादुर बिकेले लेख्नुभएको छ । दलित समुदाय मन्दिर प्रवेश गर्ने प्रयासमा दलित र गैरदलित समुदायहरूबिच झडपको स्थितिसमेत सिर्जना भएको थियो । झडपमा परेर भरतपुरकी नर्मदा नेपाली, दिनु बराइली, लक्ष्मी नेपाली (क), लक्ष्मी नेपाली (ख) तथा नवलपरासी गैँडाकाेटकी सावित्री परियार र चितवन रत्ननगरकी चमेली परियार घाइते भएको लक्ष्मी बताउनुहुन्छ ।

चैन मन्दिर प्रवेश आन्दोलन

मुगु जिल्लाको छायानाथ रारा–२ मा रहेको चैन मन्दिरमा दलितहरूको प्रवेशमाथि रोक लगाइको थियो । दलितले मन्दिर प्रवेश गरे धर्म नासिने, दलितहरूको मृत्यु हुने जस्तो धारणा गैरदलितहरूको थियो । दलित समुदायका मानिसमाथि भइरहेको जातीय विभेदविरुद्ध रङ्गमञ्चकर्मी दम्पती हिराबिजुली नेपाली र विष्णुमाया परियार अग्रसर हुनुभयो । २०७२ वैशाख ११ गते छायानाथ रारा–२ का बासिन्दा रङ्गमञ्चकर्मी दम्पतीसँगै दानसिंह परियार, जुनमाया परियार, शैलेन्द्र नेपाली, मधुल्ली नेपाली, जसुल्ली नेपाली, सन्तोषी नेपाली, निरमाया नेपाली, आशा नेपाली, सीमा नेपाली, रामु विश्वकर्मा, आकृति नेपाली, सुनमाया नेपाली, नानी नेपाली र सौमती नेपालीले संयुक्त रूपमा मन्दिर प्रवेश गर्नुभयो । मन्दिर प्रवेश गरेर फर्केका उहाँहरूमाथि कुटपिट भयो । संयोगवश भोलिपल्ट वैशाख १२ गते दिउँसो विनाशकारी भूकम्प भयो । विष्णुमाया भन्नुहुन्छ, “दलितले मन्दिर प्रवेश गरेकाले देशमा भूकम्प गएको आरोप हामीमाथि लाग्यो तर हामी कत्ति पनि विचलित भएनाँै । डटेरै सामना ग¥यौँ ।” हाल चैन मन्दिरमा दलितले सहजै पूजा गर्न पाएका छन् ।

राजनीतिमा सक्रिय दलित महिलाहरू

दलित आन्दोलनमा सामाजिक, सांस्कृतिक मात्र होइन, शैक्षिक सङ्गठनमा आबद्ध हुँदै मूलधारको राजनीतिमा पुगेका महिलाहरू पनि उल्लेख्य छन् । उनीहरूले विभिन्न आन्दोलनमा नेतृत्व गरेर र सक्रियतापूर्वक सहभागिता जनाएर सामाजिक रूपान्तरणमा योगदान गरेको पाइन्छ । सामाजिक, सांस्कृतिक, शैक्षिक हुँदै राजनीतिक आन्दोलनबाट आफूलाई राजनीतिको मूलधारमा प्रतिनिधिका रूपमा उभ्याउन सफल केही दलित महिलाहरूको परिचय यसप्रकार छः

सुशीला श्रीपाली ठकुरी

नेपालमा २०५२–२०६२ को अवधिमा सशस्त्र द्वन्द्व भयो । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले गरेको सो सशस्त्र द्वन्द्वमा सन्धिखर्क नगरपालिका वडा नम्बर १० अर्घाचारीकी सुशीला श्रीपाली ठकुरी पनि २०५४ सालमा सहभागी हुनुभयो । २०४६ सालदेखि कम्युनिस्ट आन्दोलनमा लाग्नुभएकी सुशीला अखिल भारत नेपाली महिला एकता समाजमा पनि सक्रिय हुनुहुन्थ्यो । दलित समुदायले भोग्दै आएको जातीय भेदभाव तथा असमानता हटाउन ‘जनयुद्ध’ मा होमिएको सुशीला बताउनुहुन्छ । त्यस क्रममा दलित समुदायमाथि हुने विभेदलाई निराकरण गर्ने प्रयास गरेको, जातीय भेदभाव हुने गरेको ठाउँमा पुगेर गैरदलित र दलित समुदायको भेला गराई सार्वजनिक रूपमा मुद्दाको टुङ्गो लगाउने गरेको, गैरदलित समुदायलाई दलित समुदायमाझ माफी मगाउने, फेरि फेरि छुवाछुत गरेमा सामाजिक बहिष्कार जस्तो कारवाही गर्ने गरेको सुशीलाको भनाइ छ । राष्ट्रिय दलित आयोगका पूर्व सदस्य सुशीला भन्नुहुन्छ, “आफूले लडेर ल्याएको व्यवस्थाले कलस्टरको व्यवस्था, पार्टीभित्र सिद्धान्त निर्माण, समावेशी समानुपातिक सिद्धान्त लागु भयो । दलित समुदायले खुलेर बाहिर आउन सके । समानुपातिक, समावेशी, विशेष अधिकार स्थापित हुन सक्यो ।”

सुशीला २०६२/६३ को जनआन्दोलनमा पनि सक्रिय रहनुभयो । उहाँ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री हुनुभएको छ ।

राममाया नेपाली

काठमाडौँको रक्तकालीमा जन्मिएकी राममाया नेपालीले १७ वर्षको उमेरदेखि राणा प्रधानमन्त्री जुद्धशमशेरको बगैँचाको स्याहार गर्ने, कुचो लगाउने, झारपात उखेल्ने, तह लगाउने र टहलुवाको काम गर्ने गर्नुहुन्थ्यो । उहाँले गंगालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री, गणेशमान सिंह, सिद्धिचरण श्रेष्ठलाई सहयोग गर्नुभएको इतिहास छ । प्रजातान्त्रिक आन्दोलनका योद्धाहरू जेलमा रहँदा उहाँले योद्धाहरूका परिवारहरूसँग भेटी समाचार तथा चिठ्ठी ल्याउने र लैजाने काम गर्नुभयो ।

लक्ष्मी परियार

उदयपुर जिल्ला त्रियुगा नगरपालिका वडा नम्बर १० की लक्ष्मी परियारले दलित आन्दोलनबाटै राजनीतिक यात्रा सुरु गर्नुभयो । उहाँ दलित आन्दोलनसँगै जातको आधारमा हुने गरेको जातीय विभेद वा छुवाछुतविरुद्धको आन्दोलनमा २०५६ सालदेखि सक्रिय हुनुहुन्छ । जातीय भेदभावविरुद्ध उहाँले उदयपुर जिल्लामा २०५८ सालमा डोम समुदायलाई होटेलमा प्रवेश गराउने आन्दोलनको नेतृत्व गर्नुभएको थियो । डोम समुदायका मानिसले होटलमा चिया खान जाँदा हातमा गिलास बोकेर जानु पर्दथ्यो । दलित नेटवर्कमा आबद्ध रहेर आन्दोलन गरेपछि मात्रै उनीहरूले अरू मानिससरह होटेलमा चिया नास्ता खाने वातावरण बनेको थियो । अन्तरजातीय विवाहलाई कानुनी मान्यता दिलाउने, सिराहा तथा सप्तरीका मुसहर बालबालिकाको शिक्षामा पँहुच पुर्‍याउने काम पनि उहाँले गर्नुभयो । डोटीको शैलेश्वरी मन्दिर प्रवेश अभियानमा पनि सहभागी उहाँ दलित नेटवर्कको प्रयासमा २०५९ सालमा उदयपुरको राधाकृष्ण मन्दिरमा दलितले प्रवेश पाएको बताउनुहुन्छ ।

पल्टीदेवी महरा

धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका वडा नम्बर ४ देवीचोककी पल्टीदेवी महराले दलितहरूको अधिकारका लागि २० वर्षदेखि निरन्तर सङ्घर्ष गर्दै प्रदेशस्तरीय जनप्रतिनिधि पनि हुनुभयो । मधेसमा मधेसी दलित समुदायको अवस्था विकराल रहेको बताउने उहाँ निरन्तर आन्दोलनमा लागिरहेको बताउनुहुन्छ । उहाँका अनुसार, छुवाछुतको अन्त्य र दलितको अधिकार सुनिश्चित गर्न २०४६ सालको पहिलो जनआन्दोलन र २०६२/०६३ सालको दोस्रो जनआन्दोलनमा सहभागी हुनुभएको थियो । उहाँ नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट मधेश प्रदेशको सदस्य हुनुभएको छ । उहाँ भन्नुहुन्छ, “दुई दशकदेखि निरन्तर दलित आन्दोलनमा छु । संसद्मा पनि दलितका मुद्दा उठाउँदै आएकी छु ।”

राजन विश्वकर्मा

खोटाङ जिल्ला साबिक गाविस काउलेकी राजन विश्वकर्मा २०३८ सालदेखि नेपाली कांग्रेसमा हुनुहुन्छ । उहाँ २०५४ सालमा नेपाली कांग्रेसमा दलित भातृ सङ्गठन चाहिन्छ भनेर माग गर्नेमा पर्नुहुन्छ । उहाँले २०५४ सालमै नेपाल दलित संघ उदयपुरको उपाध्यक्ष भएर काम गर्नुभयो । २१ जना सदस्य रहेको दलित संघ उदयपुरमा पूर्णकुमारी सुनार पनि हुनुहुन्थ्यो । राजनले पछि केन्द्रीय उपाध्यक्षको जिम्मेवारी पनि सम्हाल्नुभयो । राजनीतिमार्फत सामाजिक काम गर्न भनेर उहाँले २०५५ सालमा नेपाल दलित महिला उत्थान केन्द्रको स्थापना गर्नुभयो । उहाँले सो केन्द्रमार्फत दलित समुदायमा जनचेतना जगाउने, राजनीतिबारे बुझाउने, विभेदविरुद्ध अभियान गर्नेलगायत काम गर्नुभयो । २०६० सालमा नेपाली कांग्रेसले गरेको प्रतिगमनविरुद्ध अनसन कार्यकममा उहाँले आफ्नो नेतृत्वमा गैरदलित महिलासहित दलित महिलाहरूको अनसन राख्नुभएको थियो । राजन भन्नुहुन्छ, “राजनीति गर्न दलित महिलालाई साह्रै गाह्रो छ । अनसन बस्न होस् या दलितका मुद्दामा काम गर्दा होस्, पार्टीसँग लडेर काम गरेकी छु ।”

धनकुमारी सुनार

मकवानपुर जिल्ला हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ की धनकुमारी सुनारले उत्पीडित जातीय उत्थान मञ्चमा रहेर काम गर्नुभयो । उहाँले २०४२ सालतिर भूमिगत नेकपा मालेबाट राजनीतिक यात्रा सुरु गर्नुभयो । २०४२ सालमा नेकपा मालेको मजदुर संगठन आबद्ध रहेर दलित समुदायको मुक्तिका लागि काम गर्नुभयो । त्यतिबेला उहाँ नेपाल सेन्थेटिक इन्डस्ट्रीमा काम गर्नुहुन्थ्यो । २०४६ सालको जनआन्दोलनमा प्रदर्शनकारी र प्रहरीको मुठभेडमा हेटौँडामा एकजना प्रहरी मारिए । उहाँमाथि तत्कालीन पञ्चायती सरकारले ज्यान मुद्दा चलायो । उहाँ भन्नुहुन्छ, “ज्यान मुद्दा लाग्यो, जसले गर्दा दुई महिना भूमिगत भएर बसेँ । प्रजातन्त्र पुनस्र्थापित भएपश्चात् मुद्दा खारेज भयो ।”

शाली नदीको किनारमा दलित महिलालाई पूजा गर्न दिइँदैनथ्यो । यसैले धनकुमारीले दलित जातीय मुक्ति समाजमा रहेर शाली नदी किनारमा दलित महिलाहरूले पनि पूजा गर्ने वातावरण मिलाउनुभयो । दोस्रो जनआन्दोलन २०६२/०६३ मा दलितका मुद्दा उठाउन पनि उहाँले सङ्घर्ष गर्नुभयो । दलित समुदायमाथि हुने हत्या हिंसा, विभेदविरुद्ध उहाँ निरन्तर सङ्घर्षरत हुनुहुन्छ । विविध चुनौती सामना गर्दै सीमान्तकृत समुदायको मुद्दामा काम गर्दै आएकी उहाँ वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालको सचिवालय सदस्य हुनुभएको छ ।

दुर्गा विक

कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका वडा नम्बर १ की दुर्गा विकले २०५५ सालमा अखिल क्रान्तिकारी विद्यार्थी संगठनको सदस्यता लिनुभयो । २०६० सालमा विद्यार्थी सङ्गठनको अध्यक्ष हुनुभएका उहाँले २०६३ सालमा अखिल नेपाल महिला संघ क्रान्तिकारीको कास्की अध्यक्ष र नेपाल दलित मुक्ति मोर्चा कास्कीको कोषाध्यक्ष भएर काम गर्नुभयो । उहाँ दलित आन्दोलनमा निरन्तर सक्रिय हुनुहुन्छ । दलितहरूलाई प्रहरी प्रशासनबाट न्याय दिलाउन, उनीहरूको आवाज उठाउन र उनीहरूका पक्षमा पैरवी गर्नमा दुर्गाले उल्लेखनीय भूमिका निर्वाह गर्दै आउनुभएको छ । २०६४ सालमा भएको संविधानसभा निर्वाचनमा उहाँ प्रत्यक्ष निर्वाचित हुनुभएको थियो भने २०७४ सालमा समानुपातिकबाट सांसद बन्नुभएको थियो । उहाँ दलित महिलाको तर्फबाट प्रत्यक्ष निर्वाचित प्रतिनिधि पनि हुनुभएको छ ।

कमलादेवी हेमचुरी

पाल्पा जिल्लाको तानसेनमा जन्मिएकी कमलादेवी हेमचुरीे जातीय विभेदविरुद्ध विद्यार्थीकालदेखि नै सक्रिय हुनुहुन्थ्यो । साथै, त्रिभुवन बहुमुखी क्याम्पस, स्वतन्त्र विद्यार्थी युनियनका कोषाध्यक्ष, शंकरदेव क्याम्पसमा गठन गरिएको जातीय विभेद उन्मूलन युवामञ्चको महासचिव, नेपाल कम्युनिष्ट पार्टी (मशाल) को सदस्य आदि पदीय दायित्वमा रहेर उहाँले जातीय विभेदविरुद्धको लडाइँ लड्नुभयो । २०७२ सालमा संविधानमा समानुपातिक प्रणालीको माग गर्दै संयुक्त सङ्घर्ष समितिले गरेको आन्दोलनमा प्रहरीको प्रहारबाट उहाँ घाइते हुनुभयो । उहाँ भन्नुहुन्छ, “सबै मिलेर आन्दोलन गर्‍यौँ। बिजुली बजारमा चक्काजाम गर्दा पुलिसले हानेर मेरो दायाँ खुट्टा भाँचिदियो । निरन्तरको आन्दोलनको प्रयासले समानुपातिक प्रणाली लागु भयो ।” उहाँ पिछडिएका दलित तथा सीमान्तकृत युवाका लागि गुणस्तरीय शिक्षामा पहुँच बढाउने क्षेत्रमा कार्यरत संस्था व्यावसायिक विकास तथा अनुसन्धान केन्द्रको अध्यक्षका साथै जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय समिति सदस्य हुनुभएको छ ।

टेकु नेपाली

स्याङ्जा जिल्लाको बिरुवा गाउँपालिका वडा नम्बर १ की टेकु नेपाली शिक्षण पेसासँगै राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । उहाँले दलितहरूको हकहितमा विद्यालयबाट काम सुरु गर्नुभयो । गैरदलित र दलित विद्यार्थीहरूले एउटै भाँडाको पानी खानेदेखि वनभोज, विवाह, व्रतबन्धमा सँगै बसेर खाने वातावरण मिलाउनुभयो । उहाँ भन्नुहुन्छ, “विद्यालयमा सँगै पढाउने शिक्षक, शिक्षिकाले विभेद गर्थे । विद्यार्थीबिच पनि विभेद थियो । यसैले त्यो सबै चिरेर अगाडि बढेँ ।” २०५८ सालमा नारायण पोखरेलको उपस्थितिमा देवी भागवत महायज्ञ हुँदा दलितका छोरालाई व्रतबन्ध गर्न निषेध गरियो । त्यसविरुद्ध टेकुको संयोजकत्वमा आन्दोलन भएपछि दलितका छोराहरूले पनि व्रतबन्ध गर्न पाएका थिए । उहाँ २०७० सालमा नेकपा एमालेबाट संविधानसभा तथा व्यवस्थापिका–संसद् सदस्य बन्नुभयो ।

अञ्जना विशंखे

काठमाडौँ जिल्ला, सतुंगलकी अञ्जना विशंखेको राजनीतिक यात्रा २०४६ सालको जनआन्दोलनबाट सुरु भयो । त्यतिबेला सतुंगल, मच्छेगाउँ आदि ठाउँबाट निस्केको जुलुसमा उहाँ सहभागी हुनुहुन्थ्यो । २०४८ सालमा उहाँ अखिल नेपाल महिला संघ र अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीमा प्रवेश गर्नुभयो । उहाँले इन्द्रेणी सांस्कृतिक समाज रहेर प्रगतिशील गीतहरू गाउनुभयो र गीत सङ्गीतको माध्यमबाट दलित जागरण अभियान चलाउनुभयो । २०६० सालमा भएको बैङ्कटेश्वर मन्दिर प्रवेश आन्दोलनमा उहाँ पनि सहभागी हुनुहुन्थ्यो । २०६३ सालमा उहाँ जनमोर्चा नेपालको प्रतिनिधित्व गर्दै व्यवस्थापिका–संसद् सदस्य हुनुभयो ।

लैङ्गिक मोडमा तोडिएको समताको यात्रा

विभिन्न कालखण्डमा भएका दलित आन्दोलनहरूमा दलित महिलाहरूले सामाजिक, सांस्कृतिक, शैक्षिक र राजनीतिक मोर्चामा रहेर आन्दोलनलाई उभार दिएको देखिन्छ । जातीय विभेदविरुद्धको सामाजिक, सांस्कृतिक अभियान, सङ्घर्ष र आन्दोलनमा दलित समुदायका महिलाहरूले नेतृत्वसमेत गर्दै समतामुखी समाज रूपान्तरण अभियानमा अतुलनीय भूमिका निर्वाह गरे । अहिलेसम्म जति पनि आन्दोलन भए त्यसमा महिलाहरूले आफ्नो जिउ, धनको बाजी लगाएर आन्दोलनलाई गति दिए, गन्तव्यमा पुर्‍याए तर वास्तविक जीवनमा समताको अनुभव गर्न पाएनन् । अहिलेसम्मका सामाजिक, सांस्कृतिक, शैक्षिक र राजनीतिक आन्दोलनका उपलब्धीबाट दलित समुदायका महिलाहरू वास्तवमै लाभान्वित भएको अवस्था पनि छैन । यसैले उनीहरू सन्तुष्ट हुन सकिरहेका छैनन् ।

त्यसो त दलित समुदायका पुरुषहरू लैङ्गिक समताको सवाललाई महत्त्व दिने पक्षमा कमै देखिन्छन् । यसैले अहिले दलित आन्दोलन सुस्ताइरहेको छ । यस्तो बेला दलित महिलाहरू भने आफूले नेतृत्व र सक्रिय साथ दिएर अघि बढाएको जातीय विभेदविरुद्धको संयुक्त यात्रा लैङ्गिक मोडमा पुगेर तोडिएको र रोकिएको ठान्छन् । उनीहरूले अझै पनि अनेकौँ कोणबाट हुने गरेका तहतहका विभेदपूर्ण व्यवहारलाई झेल्दै आइरहनुपरेको छ । दलितलगायतका महिलाहरू घरभित्रदेखि बाहिरसम्म कुनै न कुनै रूपमा विभेदित र अपमानित भइरहेको अनुभव गर्छन् । यसैले दलित समुदायका सचेत र क्रियाशील महिलाहरू अब लैङ्गिक समताको यात्रालाई आफूहरूले फरक ढङ्गले निरन्तरता दिनुपर्ने अवस्थामा पुगेका छन् । उनीहरूको समता आन्दोलनको यात्रा अब लैङ्गिक मोडमा आइपुगेको छ । अबको यात्रामा दलित र गैरदलित समुदायका सचेत, शिक्षित र क्रियाशील महिलाहरू सँगसँगै मिलेर रचनात्मक तरिकाले आन्दोलित हुँदै अघि बढ्नुपर्ने हुन्छ ।

‘समानताको खोजीमा सङ्घर्षरत दलित महिलाहरू’ शीर्षकको यो स्टोरी ‘द स्टोरी किचेन’ ले प्रदान गरेको ‘सन्धान फेलोसिप २०२३’ कार्यक्रम अन्तर्गत सम्झना विकले तयार गर्नुभएको हो ।

सन्धान फेलोसिप अन्तर्गतका थप स्टाेरीहरू

सन्धान, प्रकाशन मिति : २०८० जेठ २१ गते, आइतवार