Fingers of chalitar cut by the landlord's mill


Fingers of chalitar cut by the landlord's mill

हरवाचरवाका दु:खजमिन्दारको मिलले काटिएका चलितरका औँला

जनकपुर– ‘तपाईंको औँलामा के भएको?’

सोध्नासाथ चलितर खतवे मण्डलले देव्रे हात उठाए। हातका चार औँला काटिएका छन्। ‘गिरहतको मिलमा...,’ चलितरले पूरा वाक्य नबोल्दै रोके। 

 

गणेशमान चारनाथ नगरपालिकाबाट मंगलबार ‘हरवाचवरा’को अधिकार यात्रा जनकपुरधामतर्फ अगाडि बढ्दै थियो। मधेशमा ओर्लिएको चर्को घाम छिचोल्दै उनीहरू ट्र्याक्टरमा यात्रा गरिरहेका थिए। 

अडेस लगाएर बसिरहेका चलितरले टाउकोमा फेटा बाँधेका थिए। सेतो सर्टमाथि निलो रङको ज्याकेट पहिरिएका थिए। ट्र्याक्टरले बेलाबेला उफार्थ्यो, चलितर दायाँ हातको भरथेग लिन खोज्थे। त्यही क्रममा उनको देव्रे हातका काटिएका औँलातिर नजर परेको थियो।

चलितरसँग औँलाबारे जिज्ञासा राख्दा आक्रोशमिश्रित भावमा भने, ‘हामी हरवाचरवाको औँला, हात काटिनु भनेको त गिरहतको लागि जनावर काटिएजस्तो हो नि।’

सिरहाको लक्ष्मीपुर पतारीमा बस्छन् चलितर। अहिले ६२ वर्षका भए, उनी।

टुटफुट नेपाली बोल्न सक्ने चलितर मैथलीमै आफ्नो कुरा सुनाउन चाहन्थे। घरी नेपाली र घरी मैथली मिसाएर उनले पुराना दिन स्मरण गरे, जतिबेल उनीसँग काम गर्ने बल र उमेर थियो। 

घटना करिब २० वर्षअघिको हो। उनी गिरहत रासलाल बंगालीको खेतबारीमा काम गर्थे। एकदिन गिरहतले ठूलो सेलर मिल ल्याए। त्यसपछि उनले मिलमा पनि काम गर्नुपर्ने भयो।

एकदिन मिलले देव्रे हातको चार औँला काटियो। औँला काटिएपछि गिरहतले नै उनलाई धरानस्थित घोपा अस्पतालमा लगेर उपचार गरे। करिब एक महिनाको उपचारमा एक लाख खर्च भयो। यति खर्च व्यहोरेपछि जमिन्दारले उनलाई कामबाटै निकालिदिए। ‘क्षतिपूर्ति दिएन। बरु कामबाटै हटायो। मैले गरेको दुःखको कुनै मूल्य देखेन,’ चलितरले सुनाए।

उनको आफ्नो जग्गा थिएन। ऐलानीमा सानो छाप्रो थियो। ५ छोराछोरीसहित चलितर दम्पतीले त्यही छाप्रोमा दिन गुजारेका थिए। चलितर काम गर्न सक्ने अवस्थामा थिएनन्। कति रात उनीहरूले भोकभोकै कटाए। ‘खानाका लागि अन्न थिएन, पानी खाएर पनि दिन कटाएका छौँ,’ चलितर भन्छन्। 

श्रीमती पसलादेवी खतवे मण्डल अरु जमिन्दारको खेतबारीमा गएर काम गर्न थालिन्। जमिन्दारले दिएको चामलले छाक टार्नै मुस्किल हुन्थ्यो। ‘त्यसपछि उनीहरूसँग ऋण लिइयो। त्यही ऋणको बदलामा धेरै वर्ष काम लगाइरहे,’ चलितर भन्छन्। 

औँला काटिएपछिका दिन पहिलाका जस्ता रहेनन् चलितरका। उनी बिरामी भइरहन्थे। काम गर्ने सामर्थ्य पनि घट्दै गइरहेको थियो।

हुर्कँदै गएपछि उनका दुई छोरा पनि हरवाचरवा बसे। तर, उनीहरूको दुःखका दिन सकिएनन्। तीन छोरी र दुई छोराको विवाहका लागि लिएको कर्जा चुकाउन पनि परिवार गिरहतकोमा हरवाचरवा बसिरह्यो। र, यो क्रम अहिलेसम्म पनि जारी छ।

चलितरका बाजेको पालासम्म उनीहरू कहरिया गर्थे। बेहुला बेहुलीलाई डोलीमा बोक्ने पुर्ख्यौली पेसा थियो चलितरको। बाको पालादेखि नै त्यो पेसा लोप भइसक्यो। चलितरका बा भने सानैदेखि ‘हरवाचरवा’ बसे। सिँगो परिवार नै हरवाचरवा बस्न बाध्य भयो। ‘वर्षौं हामीले जमिन्दारको हरवाचरवा बस्यौँ। तर, हाम्रो जमिन कहिल्यै भएन,’ चलितर भन्छन्। 

चलितरको परिवारले गिरहतकोमा काम गर्दा थुप्रै विभेद भोग्नुपरेको छ। ‘हामीलाई आँगनबाट भित्र पस्न दिइन्न।  खाना पतरीमा दिलइन्छ। थाल दिइन्न। खाइएपछि त्यो पखालेर छुट्टै राख्नुपर्छ,’ उनी भन्छन्, ‘अहिले पनि पशुको भन्दा तल्लो स्तरको व्यवहार गरिन्छ।’

उनको परिवारले थुप्रै पटक गर्मी र हिउँद एउटै कपडाले कटाएको छ। उनका लागि जाडो र गर्मी सधैं ज्यानमारा भएर आइदिन्छ। ‘हामी गरिब दलितका लागि कुनै पनि महिना आफ्नो हुँदैन रहेछ,’ उनी भन्छन्।

राजविराजदेखि जनकपुरसम्मको ५ दिने यात्रामा चलितर विभिन्न स्थानीय तहहरू घुमे। घुम्दा थाहा पाए, ‘मजस्तै हजारौं हरवाचरवाको दुःख एउटै रहेछ।’ उनले जस्तै उनका साथीहरू यात्राभर एउटै कपडामा थिए। चप्पल फाटेको थियो। उनीजस्तै सबै चाहन्थे, ‘यो दुःखबाट मुक्ति।’

पहिले पहिले त चलितर बोल्न सक्दैनथिए। अहिले आफ्ना कुरा गिरहतकै अगाडि आक्रोशजन्य भावमा राख्न सक्छन् उनी। राष्ट्रिय हरवाचरवा अधिकार मञ्च विस्तारै संगठित हुँदै गएपछि त्यो बल प्राप्त गर्दै गए उनले। ‘संगठनले बोल्न सिकायो, अधिकार माग्न सिकायो,’ उनी भन्छन्।

 अहिले उनी अधिकार मञ्चका सिरहा जिल्ला उपाध्यक्ष छन्। 

यसपटकको यात्रामा चलितरले भाषण गरे, नारा लगाए। तर, उनी गलेनन्। ‘अब हामीले भोगेको उत्पीडन हाम्रा नातीनातीनाले भोग्न नपरोस्,’ उनी भन्छन्। 

उनका दुई नातीनातिनीले एसईई दिइसके। उनीहरूलाई थप पढाउन चाहन्छन् चलितर। ‘उही जमिन्दारकहाँ हरवाचरवा बस्न पोतापोतीलाई दिने छैनौँ,’ उनी भन्छन्।

गत साउन २ गते हरवाचरवाका लागि उत्सवको दिन थियो। देशका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उनीहरूको मुक्ति घोषणा गरेका थिए। ‘तर, खै ९ महिना बित्यो। हामीले मुक्ति पाएका छैनौँ,’ उनको प्रश्न छ।

सरकारले न जमिन दियो, न रोजगारी। न शोषणाको अन्त्य नै भयो। चलितर अधिकार यात्रामा सरकारलाई खबर्दारी गर्न निस्केका हुन्।

‘अब काठमाडौंको सिंहदरबार जानुपरे पनि जान्छौँ। तर, हामी अधिकार नपाएसम्म लडिरहन्छौँ,’ चलितर दृढ भएर भन्छन्।