राष्ट्रिय दलित नेटवर्कले मनायो स्थापनाको २५ वर्ष

कैलाली । सामाजिक न्याय, र जातीय विभेदविरुद्ध सक्रिय हुँदै आएको राष्ट्रिय दलित नेटवर्कले स्थापनाको २५ वर्ष मनाएको छ । भूमि अधिकार र मानव अधिकार पक्षमा कियाशील राष्ट्रिय दलित नेटवर्कले बिहीबार कैलालीमा थापनाको २५ वर्ष मनाएको हो । सुदूरपश्चिम प्रदेश सरकार आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा राष्ट्रिय दलित नेटवर्क अहिलेसम्म गरेका कार्य तथा योगदान समेटिएको वृतचित्र समेत प्रर्दशन गरिएको थियो । प्रमुख अतिथी कानुनमन्त्री सार्कीले भूमि अधिकार, मानव अधिकार र दलित अधिकार प्राप्तिका लागि खेलेको भूमिकाको प्रशंसा गर्नुभएको छ ।
नेटवर्कका संस्थापक अध्यक्ष गणेश बिश्वकर्माले दलित समुदायका बहुआयामिक समस्याहरुको दीर्घकालीन समाधानका लागि बहस पैरवीका माध्यमबाट राज्यलाई दबाव दिन खेलेको सृजनात्मक भूमिकाको फेरिस्त प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम सुदूरपश्चिम प्रदेशसभा सदस्यहरु लक्ष्मी बि क, ललिता सुनार तथा नेटवर्कका सल्लाहकार शिक्षाबिद डा. हेमराज पन्तको आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा विभिन्न स्थानीय तहका जनप्रतिनिधी, सरकारी निकाय, संस्थाका संस्थापकहरु, कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, नागरिक समाज, मानव अधिकारकर्मी र संचारकर्मीहरुको सहभागिता भएको थियो । कार्यक्रममा भूमि अधिकार, मानव अधिकार र दलित अधिकारको क्षेत्रमा योगदान पुर्याएका विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको छ ।